प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदै, यस्ता छन् एजेण्डा

Read in 0.0 mintue

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बुधवार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि भारत भ्रमणमा हुने जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताउनुभयो । उहाँले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूर्ण सहमति तथा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।
प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल सरकारका सचिवहरू, वरिष्ठ सरकारी अधिकारी सम्मिलित हुनेछन् ।
भ्रमणका क्रममा आपसी हितका विविध पक्षमा छलफल तथा सम्झौताका साथै समझदारी पत्रमा हस्ताक्षर हुने भएकाले सोहीअनुसारको प्रतिनिधिमण्डल तय गरिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।
नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर क्षेत्रगत विज्ञ, पूर्वप्रधानमन्त्री परराष्ट्रमन्त्री लगायतसँग आफूले छलफल गरेको र सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा नेपाल भारत सम्बन्धका विविध पक्षमा महत्त्वपूर्ण छलफल हुने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय व्यापार पारवहन, ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, बाढी नियन्त्रण, हवाई मार्ग र एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो लगायतका विषयमा समझदारी गरिने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा भारतसँग मोटरेबल र झोलुङ्गे पुल निर्माणका बारेमा पनि छलफल गर्ने कार्यसूची तय भएको छ । नेपालको हित सुनिश्चित हुने गरी ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने उद्देश्य राखिएको उहाँको भनाइ छ ।
जलविद्युत् लगानीका लागि आधार सुनिश्चित गर्ने, बंगलादेशमा बिजुली बिक्रीका बारेमा ठोस कुराकानी हुने तथा महाकाली सन्धि भएको लामो समयसम्म पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
सीमा समस्या लगायतका कतिपय विषय सम्बोधन गर्न ठोस रूपमा विश्वासको वातावरण बनाउने प्रयास आफूले भ्रमणको क्रममा गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत बिजनेश समिटलाई सम्बोधन गर्नुका साथै दुवै देशका उद्योगी व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय भएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी दिनुभयो ।
उहाँले भारतको मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गर्ने कार्यक्रम समेत तय भएको बताउनुभयो । इन्दोरमा स्वच्छ भारत अभियान अन्तर्गतको फोहोर प्रशोधन परियोजनाको अवलोकन गर्ने र आईटी पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?