मैले विद्रोह किन गरें ?

Read in 0.0 mintue

नरेन्द्र बहादुर थापा, अर्घाखाँची ।

आदरणीय न्यायप्रेमी दाजुभाई, दिदीबहिनी तथा आजसम्मका सम्मूर्ण सहयात्री मित्रहरु, क्रान्तिकारी अभिवादन । मलाई कम्युनिष्ट सिद्धान्त प्रति अभिप्रेरित गरी हालसम्म क्रान्तिकारी दिशा निर्देश गर्ने नेतृत्व प्रति हार्दिक आभार प्रकट गर्दछु । नेपालको कम्युनिष्ट आन्दोलनको क्रममा हालसम्म आफ्नो जीवन उत्सर्ग गर्ने शहिदहरु प्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्न चाहन्छु ।

आदरणीय मित्रहरु, म कम्युनिष्ट पार्टीमा प्रवेश गरेकै करिब पाँच दशक पूरा हुन लागि सक्यो । मानव समाजको सर्वोच्कृष्ठ विचार कम्युनिष्ट सिद्धान्त हो भन्ने बुझेर नै म नेपालको कम्युनिष्ट आन्दोलनको चौथो महाधिवेशनकाल २०३१ साल देखि नै सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने, माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारालाई आफ्नो पथ प्रदर्शक सिद्धान्त मान्ने, समाजवाद र साम्यवादको लक्ष अभिक्तम कार्यक्रम र नौलो जनवादी क्रान्ति आजको परिस्थितिमा न्यूनतम कार्यक्रमको रुपमा रहेको सही क्रान्तिकारी कम्युनिष्ट पार्टी मानेर यो कम्यूनिष्ट पार्टीमा प्रवेश गरेको थिए । त्यस पछि उग्रवामपन्थी भड्काव मध्यपन्थी र दक्षिण पन्थी अवसरवादको विरुद्ध सम्झौताहिन संघर्ष गर्दै निर्मल लामा जीहरु, मोहन वैद्यजी र प्रचण्डजीहरुलाइ छाड्दै आयौं । त्यस्तै हाम्रो क्रान्तिकारी कार्य दिशा चित्त नबुझेर बाबुरामजीहरु २०४८ मा, रामसिंहजीहरु २०६१ मा हामीलाई छाड्नु भयो । यसरी सातौं महाधिवेशन सम्म सबै खाले भड्कावहरुलाई पन्छाउँदै केही गल्ती कमजोरीहरुका बाबजुद पनि हामी सही क्रान्तिकारी कार्यदिशा अबलम्बन गर्दै आएका थियौ । सातौ महाधिवेशन कालमा सरकारमा सामेल हुने भन्ने जस्ता केही गलत निर्णय बाहेक पार्टीको स्पीड र स्पिरिट सामान्य रुपमा ठीकै भएपनि आठौ महाधिवेशनका बेला पार्टी नेतृत्वले दक्षिणपन्थी कार्य दिशाका दस्तावेजहरु पेश गर्यो । त्यसका विरुद्ध केन्द्रीय समितिको अल्पमत पक्षले समानान्तर क्रातिकारी कार्यदिशाको दस्तावेज प्रस्तावको रुपमा प्रस्तुत गर्यो ।

ती दुवै पक्षका दस्तावेश उपर जिल्ला र स्थानीय तहसम्म फोरम सञ्चालन गरी छलफल चलाइयो । छलफल चलाउँदा बोल्ने कार्यकर्ताहरु मध्ये को कुन पक्षको हो ? स्पष्ट पहिचान गरी रेकर्ड राखियो । अल्पमत पक्षका कार्यकर्ताहरुलाई सके सम्म महाधिवेशन प्रतिनिधिको छनौट नगरी बहुमत पक्षको बहुमत बनाउने नीति तयार गरियो । त्यही कारणले मलाई महाधिवेशन प्रतिनिधि जान रोकियो । बरु एक जना छनौट भएका पर्यवेक्षक नजाने भए पछि मलाई रिक्त स्थान पूर्ति गर्ने पर्यवेक्षक बनाइयो । थाहा छ सबै कार्यकर्ता महाधिवेशन प्रतिनिधि हुन सकदैनन । मेरो पालिकाबाट कुनै एक जना महाधिवेशन प्रतिनिधि लगिएन । विचार कै कारण नभएको भए मेरो पालिकाबाट मलाई प्रतिनिधि लैजानु पर्ने थियो ।

पूर्व निर्धातिर षडयन्त्रमूलक नीतिबाट छनौट गरिएको प्रतिनिधिहरुको बहुमत त हुने नै भयो । यद्यपी आठौं महाधिवेशनले अहिलेसम्म इतिहासमा नभएको ध्वनी मतले बहुमत पक्षद्धारा प्रस्तावित दक्षिणपन्थी कार्यदिशा पारित गर्यो । अर्थात कति मतका विरुद्ध कति मतले दक्षिणपन्थी कार्यदिशा पास भयो ? अन्तरमत कति थियो ? रेकर्ड नै छैन । महाधिवेशको अवधिको अघि र पछि पनि बहुमत पक्षको पार्टी नेतृत्वले गरेका केही गल्ती वा कमजोरीहरु उल्लेख गर्न चाहन्छु ।

१. वैचारिक मतभेद र दुइलाइनको संघर्षलाई नेतृत्वले सही ढंगले व्यवस्थापन गर्न सक्नु पर्दछ । अन्यथा पार्टी फुट र विसर्जनको दिशामा जाने कुरा निश्चित छ । यसको श्रेय वा दोष नेतृत्वलाई जान्छ ।
२. हाम्रो पार्टी नेतृत्वले केपी ओलीको सरकारले मात्र राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न सक्छ भनेको थियो । यो धारणा अहिले गलत प्रमाणित भैसकेको छ । यद्यपी पार्टी नेतृत्वले अहिलसम्म आत्मालोचना गरेको छैन ।
३. अवैधानिक रुपको सुद्धिकरण अभियानको बहाना बनाएर फरक मतका साथीहरुलाई तथाकथित कारवाहीको नाममा निस्कासन गर्नु गलत र षडयन्त्रमुलक छ । नेतृत्वले त्यसो नगरी दुइ लाइनको संघर्षलाई व्यवस्थापन गर्नु पर्दथ्यो ।
४. महाधिवेशनले पारित गरेका दस्तावेजहरु तोडमोड गरी प्रकाशित गर्नु गलत थियो । पाँचौ महाधिवेशन पछि महाधिवशनद्धारा पारित दस्तावेज तोडमोड गरी नेतृत्वले प्रकाशन गर्दा मोहन विक्रम सिंहले गम्भीर अपराध भन्नु भएको छ । यही कारण हाम्रो पार्टी उनीहरुसँग अलग भएको थियो । अहिले पनि त्यो एउटा कारण बनेको छ ।
५. सम्मेलनबाट आएको कुनै पार्टी कमिटिलाई आफ्नो पक्षको बहुमत नभएको कारण विघटन गर्न गम्भीर गल्ती हुन्छ । जस्तै नवलपुर जिल्ला कमिटि भारत शाखा र दक्षिण भारतलाई पनि त्यही गरियो ।
६. केपी ओलीको नेतृत्वको सरकारलाई मैले पहिले देखि अधिनायकवादी, निरंकुश, तानाशाही स्वेच्छाचारी र प्राधिकारवादी भएकोले यसलाई दिएको समर्थन फिर्ता गरी विरोधका कायक्रम बनाउने माग राख्दा वास्ता नगरी उसले संसद विघटन गरेपछि मात्र प्रतिगामी कदम ठहर गरी समर्थन फिर्ता लिइयो । तर समर्थन गर्नु गल्ती थियो भनी आत्मालोचना गरिएन ।
७. २०४९ साल देखि लगातार चुनाव उपयोग गर्दा पार्टी संसदीय दलदलमा फसिसकेको छ । यसलाई सच्याउने कुनै पहल गरिएन ।
८. आठौं महाधिवेशनबाट चुनावी कार्यनीतिक नारालाई रणनैतिक बनाएर पारित गरि पार्टीलाई सुधारवाद तर्फ धकेलिएको छ । यसलाई सच्याउनु पर्दथ्यो ।
९. २०७२ सालदेखि पार्टी सरकारमा जाने नीति पास गरेपछि नेता र कार्यकर्ता पदलोलुप र सत्तामूखी बन्न पुगेको कुरालाई नेतृत्वले विचार नै पुर्याएन ।
१०. २०७२ को गणतान्त्रिक संविधानलाई समाजवाद उन्मुख संविधान बताउनु गलत छ । त्यसो भए के अब जनवादी क्रान्ति गर्नु आवश्यक छैन ?
११. २०७४ सालको संसदीय चुनावमा आफ्नो बटमलाइनलाई छाडेर प्यूठानको १ सिटमा चित्त बुझाई देश भरी नै त्याग गर्नाले कार्यकर्ता खिन्न र निरुत्साहित भए । यो नेतृत्वको गलत कार्य हो ।
१२. हाम्रो पार्टीवाट माओवादीमा जाने अनिलजीहरुलाई धन्यवाद तथा बधाई दिनु के नेतृत्वको गलत होइन ?
१३. केपी ओलीको संसद विघटनको कमदलाई प्रतिगामी भन्दै उसले गराउने चुनावको लागि कार्यकर्तालाई तयार हुन निर्देशन गर्नु ठिक कि गलत?
१४. २०७९ को स्थानीय चुनावमा एउटा राष्ट्रघाती एमालेका विरुद्ध प्रतिगामीको नाममा अन्य राष्ट्रघातीहरुसँग गठबन्धन गर्नु कति सही थियो ? प्रतिगमन र राष्ट्रघातमा कुन बढी खतरा ? यसको जवाफ छैन ।
१५. राजनीतिक दलहरुको विश्लेषणमा बहुमत नेतृत्वले एमालेलाई दक्षिणपन्थी अवसरवादी भएर पनि देशभक्त तथा जनतान्त्रिक शक्ति भनिएको छ । माओवादीलाई निम्न पूजिपति वर्गको प्रतिनिधित्व गर्ने ढुलमुल शक्ति भनिएको छ र दुवैलाई नौलो जनवादी क्रान्तिका मित्रशक्ति भनिएको छ । अल्पमतको विश्लेषणमा दुवैको नेतृत्व नोकरशाही तथा दलाल पूजीवादको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्ति भनिएको छ । अहिले एम.सी.सी. अमेरिकाको दवावमा पास गरेको आधारमा हेरौं । कस्को विश्लेषण सही प्रमाणित भयो ? अल्पमतको विश्लेषण सही भएन र ?
१६. का उमेशको पार्टीलाई एकताबद्ध बनाउन प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गरी प्रस्तावकलाई पार्टीबाट निष्कासन गर्नु अन्याय भएको छ ।
माथि उल्लेखित बुँदाहरु लगायत पार्टी नेतृत्वका कैयौं गल्ती कमजोरीहरु छन् । तैपनि दुइ लाइनको वैचारिक अन्तर संघर्षलाई मैत्रीपूर्ण ढंगले व्यवस्थापन गर्न सकेको र चाहेको भए आगामी नवौं महाधिवेशनसम्म जान सकिन्थ्यो । तर विचार वा फरक मतको आधारमा पार्टी केन्द्रमा अल्पमतलाई समाप्त गरियो । अब तलसम्म समाप्त गर्दै जाने पार्टीको नीति रह्यो । त्यसकारण अबका दिनहरुमा अहिलेसम्मको यात्रामा साथ दिइरहने साथीहरुको गहिरो माया हुँदाहुँदै पनि साथीहरुलाई छाडेर बस्न अत्यन्तै पिडाबोध भएको छ ।

आजसम्म पार्टी सचिन्छ कि भन्ने आशा गर्दै रहेपनि अब पार्टीका गल्ती कमजोरीहरु सच्याउने सम्भावना नदेखिएकाले दक्षिणपन्थी दिशा समातेको पार्टीमा क्रान्तिकारी विचार रहिरहन नसक्ने हुनाले यो पार्टीको दक्षिणपन्थी कार्य दिशा परित्याग गरी यही पार्टीको गलत कार्यदिशा सच्याएर क्रान्तिकारी पार्टी निर्माण तर्फ लागेको घोषणा गर्दछु । झण्डै आज पाँच दशकसम्म मैले के कति काम गरे या गरिन त्यो मैले बताइरहनु पर्ने विषय होइन । तपाईहरु सबैलाई थाहा छ । बुझेर मूल्यांकन पनि गर्नु होला । म आफैले यस पार्टीमा गरेको योगदान र लगानी सम्झदा मलाई अत्यन्त पिडाबोध भएको छ । भए पनि क्रान्तिकारी र दक्षिणपन्थी विचार एक ठाउँमा रहन नसक्ने कुरा पुःन दोहोर्याउन चाहे । म आफ्नो पार्टी छाडेर कुनै अर्को पार्टीमा गएको छैन । यही मसालको दक्षिणपन्थी कार्यदिशा सच्याएर क्रान्तिकारी पार्टी निर्माण गर्ने प्रयास गर्नेछु । वैचारिक स्पष्टता भएको साथीहरु मसँग नै रहनु हुनेछ । स्पष्ट हुन नसकेका साथीहरु स्पष्ट हुदै जानु हुनेछ । दक्षिणपन्थी नेतृत्वलाई छाड्न नचाहने साथीहरुसँग पनि वार्ता र संवाद गर्दै जाउँला । विचार फरक भएपनि माया अटुट रहनेछ ।

मलाई सही र गलत छुट्याउन सक्ने क्षमताको विकास गर्ने मसाल नेतृत्व प्रति पुःन धन्यावाद दिन चाहन्छु । तपाइहरुको सूझाव र सल्लाहलाई मनन गर्नेछु । अबको बाँकी जीवन पनि पार्टी र क्रान्तिको पक्षमा अर्पण गर्ने वाचा गर्दै तपाईहरुबाट विदा चाहन्छु । धन्यवाद ।

हाँक साप्ताहिक बाट लिएका हौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?