” शसस्त्र द्वन्द्व को २० बर्ष पुगेछ । सरकार कहाँ छ ? समस्या जहाको त्यहीँ छ । “

Read in 0.0 mintue

हिम बहादुर कुमाल, अर्घाखाँची ।

लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला
सन्धिर्खक नगरपालिका १
मेरो घटनाः २०५९÷०३÷२२ गते तत्कालीन शाही सेनाले ब्यारेक शुरक्षाको लागी राखेको बममा परी दाहीने खुट्टा गुमाउन पुगे साथै शरिरको विभिन्न भाग क्षेद विक्षेद अवस्था भयो ।

मेरो ठुलो परिवार थियो । तिन दिदी बहिनी र तिन दाजु भाइ थियौ। जम्मा परिवार सँख्या आठ जना थियौ। त्यसैले गर्दा मैले सामान्य लेखपढ गर्न सम्म मात्र सके । घरको आर्थीक स्थिती धेरै दयनिय थियो । हाम्रो मुख्य पेशा कृषि थियो । मुस्कीलले जम्मा चारमहिना मात्र खान पुग्द थियो । वुवाको कमाइले मात्र घर खर्च नचल्ने भएको हुदा म पनि ज्यामी काम गर्दथे । घर परिवार सामान्य तरिकाले चलेको थियो । एक दिन असारको महिना थियो । खेतमा मकै पाकिसकेको थियो । खेतमा धानको विउ राख्ने क्रम चलिराखेको थियो । त्यसै क्रममा भाइ खेत जोत्दै थियो । म मकै काट्दै थिए । दिउसको तिन बजेको थियो । मकै काट्दै जाने क्रममा एक्कासी बम पडकियो ।

पछि मात्र थाहा भयो । लेनमाइन रहेछ । त्यही बमले मेरो दाहीने खुट्टा लगीदियो । म बेहोसखेतमा भैसकेको थिए । जिल्ला अस्पताल लगिएछ । सामान्य उपचार गराइएछ । पछि हेलिकोप्टरको साहायता बाट पोखरा गन्डगी अस्पताल एक रात राखिएछ । अर्को दिन सोही हेलिकोप्टर द्धारा त्यहाँ बाट काठमाण्डौ छाउनी अस्पताल लगियो । त्यहा मेरो अप्रेशन गरेर घुडा भन्दा माथिको भाग पुरै फालिएछ । कम्मर देखि तल हातमा छातीमा पुरै ठाउँमा पट्टी बाधीएको थियो । जब म होसमा आए । मेरो दुःखको जिवन सुरु भयो ।भर्खर बिस एक्काइस वर्षको थिए । अर्ध शरिर थियो । शरिरमा धेरै दिन सम्म दुखाइ भयो।धेरै रोए । एकातिर अर्ध शरिर,अर्कोतिर घाउको पिडा साथै आफुले सिकेर गर्न सक्ने काम गर्न नसकिने भयो । भन्दै अनेक कुरा मनमा खेलाउदै धेरै रोए । धेरै विलौना गरे । करिव एक वर्ष छाउनी अस्पताल उपचारको क्रममा बसे । अस्पता बाट डिस्चार्ज भए । सेनालेनै पोखरा विजयपुर ब्यारेक,फुलबारी ब्यारेक हुदै घरमा ल्यादिए । त्यस पछि फेरी मेरो जिबनको सँसारै बदलिएछ ।पहिलाको म र अहिलेमा आकाश धर्ती जस्तै फरक पाए । घर पविारले गर्ने व्यबहार साथि भाइले गर्ने व्यबहार धेरै भिन्नता पाए । पहिला म बिना कसैको घरमा काम अधुरो रहन्थेयो भने अहिले मेरो नाम निशाना छैन । हुदो रहेछ । कसैको घरमा काम पर्यो भने मलाइ नै बोलाउने गर्थे । भने अहिले म देखि टाढिन थाले । सवै जना । त्यसैले मेरो जिवन झन दुःखमा बित्यो । जब म घरमा आए । म धेरै पटक जिल्ला प्रशासन धाए । जति पटक सिडियो फेरिन्थे तेति पटक आफ्नो कुरा राख्न जान्थे । मैले भन्ने गर्थे सवैला म यो कारणले अपाङ्ग असक्त भए ।

यसरी युवा अवश्थामा अपाङ्ग भइ बाच्नु पर्दा चिन्तीत दुखित हुदा बेदना र पिडाको आशु पिएर बाचेको पनि अनुभव भइरहेको छ । यसरी दिन प्रतिदिन मेरो जिवन दुखमय र कष्टकर भएकोले बाच्ने रहर पनि क्रमश हराउदै गएको अनुभव हुन थालेको छ । म पिडितले आफ्नो दुःख पिडा र व्यथा व्यक्त गर्ने शब्द पनि पाउदिन । जुन सब्दमा जतिसुकै बल गरेर पिडा ब्यक्त गरे पनि म पिडितको भावना उतार्न जो कोहिले पनि सक्दैन । किन भने तपाइहरुलाइ पनि थाहैहोला । पिडाको वास्तविक अनुभुती तेस्लाइ मात्र थाहा हुन्छ । जस्ले त्यो भोगेको छ । कसैले कठै भनीदिने एउटा कुरा हो । तर आफैलाइ परेर नभोगे सम्म मानीसले कुनै पनिकुरा राम्ररी अनुभव गर्न सक्दो रहेनछ । भन्ने कुरा मैले महशुस गरेको छु । म रहरले घाइते भएको होइन । म कुनै युद्धमा सामेल भएको थिएन । म पक्ष वा विपक्ष कतै लागेको थिएन । तर पनि नारकिय जिवन जिउन बाध्य भएको छु । केही गरौला भन्ने भावानाको साथमा अघि बढिरहेको बेला म आज दयाको पात्र भएको छु । अरुको सहारामा बाच्नु पर्ने परजिवी जिन्दगी बाच्न कस्लाइ पो रहर होला र ? तर पनि म सँग विकल्प छैन । यदि छ भने सिमित छ । घाइते र असक्त हुदाहुदै पनि म सकेको काम गर्न तयार छु । यसका लागी सरकार र सम्बन्धित सँघसस्थाले ध्यान दिएमा म आफ्नो सिप र क्षमता र विवेकलाइ सार्थक बनाउन सफल हुने थिए।भन्दै म जिल्ला प्रशासनमा धाए । तर मैले न्याय,राहात,क्षेती पुर्ती पाउन सकिन । तेतिमात्र होइन । यो देशका ठूला पार्टी हौ।भन्नेको सबै पार्टी कार्यालय पनि धाए । सरकार सँग जादा पार्टीका मान्छेलाइ भन पार्टीका मान्छेलाइ भन्दा सरकार सँग भन भन्दै आलटाल गरे न्याय पाउने आश पनि मारे ।

विस्तृत शान्ती सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गरेको पन्ध्र वर्ष पुरा भएको छ । मेरो चाहाना यती मात्र हो ।यो देशमा पनि सरकार छ भन्ने अनुभूति दिलाइयोस। सरकारले हामीलाइ न्याय,परिपुरणको व्यवस्था गरोस । जुत्ता फेरेजस्तो कृतिम खुट्टा फेरी रहन पर्ने। निरन्तर उपचार गराइराख्नु पर्ने । बालबच्चाको पढाउने व्यवस्था गरोस र हामीले गर्नसक्ने खालको रोजगारको व्यवस्था गरोस । भन्ने चाहाना हो । फेरी देशमा यस्तो अवस्था नआउस । कुनै पनि नागरिकले दुःख कष्ट समस्यामा नपरुन भन्ने चाहाना हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?