खुसीयालीको पर्व तिहार

Read in 0.4 mintue

दसैँको उल्लास र उमङ्गको रौनक सेलाउन नपाउँदै आउने तिहार पर्व दसैँ जस्तै धार्मिक र सामाजिक महìवको पर्व हो । दसैँमा पशुबलि वा हिंसाको बाहुल्यता रहेको हुन्छ भने तिहारमा आपसी भाइचारा र वसुधैव कुटुम्बकम्को भावना मुखरित भएको पाइन्छ । दसैँमा कालरात्रि जगाइन्छ भने तिहारमा दीपावलीको आलोक । प्रायः कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट त्यसै महिनाको शुक्लपक्षको द्वितीया तिथि पाँच दिनसम्म सम्पन्न गरिने र त्यसै पाँच दिनभित्र मृत्युका देवता यमराजको पूजा हुने हुँदा तिहारलाई यमपञ्चक पनि भनिन्छ । 

झट्ट सुन्दा यमराज शब्दले डरको भावना उत्पन्न गराए पनि यमराजलाई धर्मराजको मान्यतामा राखेर ब्रह्माण्डव्यापी न्यायकर्ता र दण्डाधिकारको साक्षात् व्यक्तित्वमा यमराजलाई यस पर्वमा चित्रित गरिएको छ । यमपञ्चकको पाँच दिन यमराज बहिनी यमुनाको घरमा बसेका कारण यमपञ्चकको कुनै पनि दिनमा मृत्यु हुने मानिसले नरक देख्न नपर्ने विश्वास दिलाइएकाले त्यसैको उपलक्ष्यमा दीपावली मनाउने प्रथा चलेको पनि उल्लेख भएको पाइन्छ । मानव अस्तित्व प्रकृति जगत्सँग निर्भर छ । त्यसैले प्रकृति जगत्का सम्पूर्ण जीव पशुपन्छीसँग उसले प्रेमपूर्वक बाँच्न सक्नु पर्छ भन्ने उदार भावनालाई धार्मिक मान्यता दिएर साकार रूपमा स्थापित गर्न खोज्ने तिहार पर्वको महत्व अत्यन्त उच्च छ ।

यमपञ्चकमा निष्ठापूर्वक काग, कुकुर, गाई, गोरु, बहर आदिको पूजा गर्ने परम्पराले मानव हृदयभित्रको उज्यालो पक्ष प्रेम, दया, समवेदना तथा शीतलतालाई प्रकट गर्दछ । तिहार त्यसैले बाहिर गरिने दीपावली मात्र नभएर हृदयभित्रको दीपावली पनि हो । यमपञ्चक अन्तर्गतको पहिलो दिन कागको पूजा गरिन्छ । यमराजको अनन्य भक्त काग यमराजकहाँ पृथ्वीवासीका राम्रो–नराम्रो खबर पु¥याउने दूतका रूपमा चिनिन्छ । 

विभिन्न ठाउँमा देखिएका विशेषतः घर वरिपरिको फोहोर, जुठो आदि खाइदिएर पर्यावरण शुद्ध र सफा राख्न सहयोग गर्ने, दिशा पत्ता लगाउने कम्पासको बनोट नहुँदासम्म समुद्र यात्रामा निस्कने यात्रुलाई गन्तव्य स्थानमा पुग्न दिशा बोधको ज्ञान दिने आदि कार्यमा कागको महìव रहेको हामी पाउँछौँ । साथै प्राकृतिक प्रकोप अन्तर्गतको भूकम्पको धक्का आउनुपूर्व चलाख पन्छी कागले जानकारी दिन्छ भन्ने मान्यता पनि रहेको छ । कागको पूजा अनुष्ठानमा कागलाई नियन्त्रणमा लिन नसक्ने कारणले कागको निमित्त ससाना दुना, बोहतामा दालभात, रोटी आदि खाद्यान्न र दुबो, धूप, अबिर, केसरी, अक्षता, दुनामा बलेको बत्ती आदि सामग्री नाङ्लामा राखेर कागलाई तीन पटक सम्बोधन गरेर बोलाइन्छ । 

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी भनिन्छ र त्यस दिन कुकुरको पूजा गरिन्छ । त्यसै दिन उषाकालअघि नै आआफ्ना घरका मुख्य गृहिणीले पितृ उद्धारको निमित्त दुना, टपरी विशेषमा बत्ती बालेर दक्षिण दिशापट्टि फर्काएर कुनै जलाशय तथा नदीमा बगाइदिने वा उक्त स्थानको सम्भव नभएमा धारा, पँधेरामा राखिदिने चलन छ । उक्त अनुष्ठान गर्नुपूर्व तेलमा बालेको बत्तीको टपरीलाई ‘नकजा हर्ष आइज’ भनेर मुख्य गृहिणीले घरका अरू व्यक्तिको शिरमा घुमाइदिने पनि गरिन्छ । पूजा अनुष्ठानमा फूलको माला, अबिर, अक्षता, जलसमेत प्रयोग गरेर कुकुरको पाउसमेत छोएर मिठा मिठा रोटी खाद्यान्न परिकार खुवाएर ‘ब्रह्म कर्म समूच्चय’ मा उल्लिखित ‘द्वौश्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ । ताम्यामन्नम प्रयच्छामी स्याता मेता बहिंसको’ मन्त्र पढ्ने गरिन्छ । 

मानिसको तुलनामा कुकुर बढी स्मरण शक्ति भएको, गुप्तचरीको कामसमेत गर्ने, चोरी पत्ता लगाउन सक्ने इमानदार जनावर र भैरवको बाहानका रूपमा लिइन्छ । आफूले खाई, पाइआएको घरमा हरतरहले सुरक्षा दिने, निगरानी गर्न सक्ने, विशेषतः रातमा नसुत्ने र प्राकृतिक तथा दैवी प्रकोप हुन लाग्दा अग्रिम सूचना तथा सङ्केत दिने र इमानदारीको मान्यता कदरमा कुकुरको विशेष भूमिका पाइन्छ । यमपञ्चक अन्तर्गत तेस्रो दिन लक्ष्मीकी प्रतीक गाईमाताको विशेष पूजा गरिन्छ । गाईको विशेषतामा गाईको गोबर, गहुँत, दुध, घ्यु, आध्यात्मिक प्रवृत्तिका मानिसहरूको निमित्त जन्मदेखि मृत्यु पर्यन्तसम्म नै आवश्यक मानिन्छ । 

आध्यात्मिक अनुष्ठान सप्ताह, नवाह, एकाह र अन्य अनुष्ठानमा समेत गाईको गहँुतसमेत मिसाएर बनाइएको पञ्चगव्य सेवन गरेर मात्र अनुष्ठान विशेषका कथा सुन्न निर्देशन गरिन्छ साथै पञ्चगव्य आयुर्वेदिक उपचारमा समेत उपयोगी ठह¥याइएको छ । मृत्युवरणपछि परलोक तथा यमलोक यात्रामा वैतरणी नदी तर्दा गाईको सहयोग चाहिने कुरा गडुर पुराणमा उल्लेख छ । स्वास्थ्य विज्ञानले गाईको गोबर, गहुँतलाई मानवको सुस्वास्थ्यका निमित्त उपयोगी औषधीय गुणले सम्पन्न भएको बताएको छ । यिनै महत्वपूर्ण कारणहरूले गर्दा नै गाईलाई राष्ट्रिय जनावरमा सूचीकृत गरेर राखिएको छ । 

दीपावली लक्ष्मी पूजाको निमित्त आफ्नो घरआँगन र वरिपरिको वातावरणलाई सफा र स्वच्छ राख्ने गरिन्छ । पुरातनकालमा दीपावलीको निमित्त प्युरीको बत्ती, केराका सुप्ला, दुना, बोहोता प्रयोग गर्दथे तर समयको परिवर्तनसँगै क्रमशः पाला, मैनबत्ती र बिजुली बत्तीको माला, पाला प्रयोगमा आउन थाले । कुनै पनि आध्यात्मिक वा सांस्कृतिक अनुष्ठान गर्न होस् वा कुनै पनि कार्यको शुभमुहूर्त प्रथमतः बत्ती बालेर गरिन्छ ।

दीपावलीपछि लक्ष्मी पूजा गरिन्छ । त्यस दिन मानिसहरूले आ–आफ्ना घर पसलका मूलढोकादेखि भित्री राखन धरनको तहसम्म बिजुली बत्ती वा पालाले जगाएर र झ्याल ढोकाका चौकोसम्म सयपत्री फूलका मालाले सजाएर, मूल ढोकामा अबिरको थुप्रोमा षट्कोण र भ¥याङका खुड्किलामा लक्ष्मीको पाइला बनाई लक्ष्मीलाई आफ्नै घरमा स्थिर हुन आह्वान गरी लक्ष्मीसहित कुबेरको पूजा गरी झ्यालढोका पूरै खुला राखेर सुखरात्रिको सम्बोधन मनन गरेर धनधान्यलगायत सबै कुना परिपूर्ण हुने धार्मिक, पौराणिक विश्वास रहेको छ । 

त्यसै दिन देउसी खेल्ने परम्परा छ । जस अनुसार प्रत्येक घरमा समूहमा मिली देउसी गीत गाउने, अन्य नाचगान गर्ने र त्यसबापत घरपेटीबाट रोटी र यथासक्य नगद रुपियाँ दिने चलन छ । 

यस सन्दर्भमा पौराणिक कथन अनुसार राजा बलि आफ्नो दानकर्मका लागि अत्यन्त प्रख्यात थिए । उनको प्रख्यातिबाट आफ्नो शासन डगमगाउने देखेर त्रसित भएर उनलाई कुनै पनि उपायले आफ्नो शासनबाट च्युत गर्ने जुक्ति देवताहरूले सोचे । त्यसैको फलस्वरूप भगवान् विष्णुले एउटा ब्राह्मण युवकको भेष गरी बलिले यज्ञ गरेको ठाउँमा गएर आफूलाई बस्नको निमित्त तीन पाइला स्थान मागे । राजा बलिले उक्त दान दिनेबित्तिकै विष्णुले आफ्नो एक पाइलाले पृथ्वी र अर्को पाइलाले आकाश ढाके र तेस्रो पाइला राख्ने स्थान नपाएपछि कहाँ राखुँ भनी बलिलाई सोद्धा आफ्नो शिरमा राख्न अनुरोध गरे । तत्पश्चात् बिष्णुले बलिको शिरमा पाइला राखी उनलाई नरकमा धकेली दिए । नरक लोकमा पुगे पनि केही दिन मृत्युलोकमा आउन पाऊँ भनी बलिले बिन्ती बिसाएपछि विष्णुले पाँच दिन यमपञ्चकमा बस्नका लागि अनुमति दिए । राजा बलि मत्र्यलोकमा आउने समयमा उनका समर्थकहरूले दीपावली गरेर उक्त दिनको राति देउसी खेल्न पठाए भन्ने कथन छ । त्यसैले देउसी खेल्नेहरूले “हामी त्यसै आएनौँ, बलि राजाले पठाएको” भनी भट्याउने गर्दछन् ।

यमपञ्चक अन्तर्गत अर्काे दिनमा आ–आफ्ना घरमा गाईको गोबरबाट गोवर्धन पर्वतको आकार बनाई ‘गोवर्धन धरा धार गोकुल त्राणकारक’ मन्त्र उच्चारणले पूजा गरी द्वापर युगका कृष्णको स्मरण गरिन्छ । इन्द्र महाराजाले भीषण वर्षा गराई गोकुलवासीलाई घर न घाटको बनाई धेरै दुःख दिँदा श्रीकृष्णले आफ्नो शक्तिले गोबरको पर्वत बनाई चोरऔँलाले उक्त पर्वत उठाई गोकुलवासीलाई सुरक्षा दिइएको उल्लेख छ । यसै दिन गाईका बाच्छाबाच्छीलाई आफ्नी आमा माउ गाईको दुध चुस्न स्वतन्त्र छाडिन्छ । यसै दिन खास गरेर नेवार समुदायले नयाँ वर्ष ‘भिन्तुना’ हर्षोल्लासले मनाएर साँझपछि ‘म्हपूजा’ सम्पन्न गर्ने प्रचलन छ । यमपञ्चकको अन्तिम दिन भ्रातृ द्वितीयामा दिदीबहिनी, दाजुभाइको परम्परमा सप्तरङ्गी टीका लगाइने गरिन्छ । 

उक्त अनुष्ठानमा दिदीबहिनीले दियो, कलश, गणेश स्थापना गरी अष्ट चिरञ्जीवीको पूजा गरिन्छ । ढोकामा ओखर पुटाउने, कपाल र कानमा तेल लगाइदिई टीका लगाइदिएपछि मखमली, सयपत्री, गोदावरी, दुबोको मालाले जे छ, त्यही र प्रायः टोपीसमेत पहि¥याई दिने प्रचलन रहेको छ । दाजुभाइले यथासक्य उपहार र दक्षिणा दिइने र त्यस दिनको भोजन दिदीबहिनीहरूकै घरमा गर्न शास्त्रीय निर्देशन उल्लेख छ । तिहारको अर्को रोचक प्रसङ्गमा राजा बलि र लक्ष्मीको नियास्रो अवस्थाको प्रसङ्ग आउँछ । जस अनुसार भगवान् विष्णु व्यस्त भएका बखत माता लक्ष्मीलाई एक्लै समय बिताउन अप्ठेरो भएकाले विष्णुका परम् भक्त राजा बलिका महल तथा भवनमा बस्न जाने निर्णय गरिन् तर राजा बलिसँग कुनै साइनो नभएका कारण उनीलाई बस्न अप्ठेरो हुने भएकाले उनीले राजा बलिलाई टीका लगाइदिई भाइका रूपमा वरण गरिन् । उनको दीर्घायु र सुस्वास्थ्यको कामना गरिन् ।

राजा बलिले आफूलाई जस्तै अरूले पनि दिदीबहिनीको हातबाट टीका ग्रहण गरेर दीर्घायु र स्वास्थ्य बन्न सकून् भनी लक्ष्मीलाई आग्रह गर्दा उनले ‘तथास्तु’ वचन दिएकीले भाइटीका गर्ने प्रचलन सुरु भएको भनिन्छ । यस्तो शुभकार्यबाट प्रभावित भएर यमुनाले पनि आफ्ना दाजु यमराज सुरक्षित रहून् भनी पाँच दिनसम्म आफ्नो घरमा राखेर यमपञ्चक आयोजना गरिन् र त्यसको अन्तिम दिनमा भाइटीका गरिन् भन्ने कथन पाइन्छ । यमपञ्चकसँग सम्बन्धित नभए पनि तिहारमा भगवान् विष्णुको अंशका रूपमा चिनिने आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती, कवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती, नेपाल संवत् अनुसारको नयाँ वर्ष भिन्तुना पनि यमपञ्चकको उल्लासमय वातावरणमा अझ बढी रौनक भएर थपिएको छ । 

तिहार अथवा दीपावली पर्व नेपाली साहित्यका अझ विशेष महत्वपूर्ण छ । दीपावली तथा लक्ष्मीपूजा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्त्रीको दिन पनि हो । लक्ष्मी पूजामा धनकी देवी लक्ष्मीका अतिरिक्त कुबेर इन्द्र ऐरावत तथा लक्ष्मीकी सहोदर भाइ चन्द्रमाको पनि पूजा हुन्छ । लक्ष्मीका दुई स्वरूप दुर्भाग्य लक्ष्मी र सौभाग्य लक्ष्मी भएको मानिन्छ । अन्त्यमा, असत्यमाथि सत्यको विजयको पर्वका रूपमा दसैँ सम्पन्न गरिए जस्तै दीपावलीलाई अँध्यारोमाथि उज्यालोको विजयका रूपमा र पूर्वीय दर्शनमा आधारित ठुलो मान्यता र पे्ररणादायी सन्देश तमसोमा ज्योतिर्गमय अर्थात् मन हृदयभित्रको चेतनाको महìवको उज्यालो झलमल्ल हवोस् भन्ने भावनाको कदर मान्यता राख्नु अति उत्तम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?