“सुपा मन्दिर आएका पर्यटक मालारानी मन्दिरमा आउने वातावरण बनाउन्छौ”

Read in 0.0 mintue

दलबहादुर भट्टराई
प्रमुख
मालारानी गाउँपालिका खनदह अर्घाखाँची

हालसम्मको अवधिमा के के काम गर्नुभयो ?
सर्वप्रथम स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हामीहरूलाई अधिक विश्वाशका साथ विजयी गराई यस गाउँपालिकाको सुशासन, विकास र समृद्धिको लागि सेवा गर्ने अवसर प्रदान गर्नुहुने मालारानीवासी जनताहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्दै सुख र समृद्धिको लागि हाम्रो सिंगो गाउँपालिका परिवार सदैव यहाँहरू प्रति समर्पित रहने प्रतिबध्दता व्यक्त गर्दछु ।
स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम पश्चात गठन भएको मालारानी गाउँसभाको अधिवेशनबाट आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान, नेपालको पन्ध्रौं राष्ट्रिय योजना, दीगो विकासका लक्ष्यहरू, नेपाल पक्ष भएर गरिएका विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरू, राष्ट्रिय नीति तथा परियोजनाले परिलक्षित गरेका विभिन्न विषयहरू, यस गाउँपालिकाको प्रथम आवधिक विकास योजना, मालारानी गाउँपालिकाका विषयगत समितिका सिफारिस तथा सुझावहरू, विभिन्न क्षेत्रका विज्ञ एवं समाजसेवी तथा सरोकारवालाहरूको रायसुझाव समेतका आधार लिएर निर्माण गरी पारित भएको ६८ करोड १४ लाख ९ हजार १२० मध्ये चालु तर्फ रु. ४८ करोड ३७ लाख ११ हजार १९० पैसा २० र पूँजीगततर्फ रु. १९ करोड ७६ लाख ९८ हजार विनियोजन भएको बार्षिक नीति तथा कार्यक्रम र बजेट पहिलो एक बर्षमा कार्यान्वयन गरिएको छ । उक्त विनियोजित रकममध्ये चालुतर्फ रु ४१ करोड २० लाख २४ हजार ६ सय ८१ र पूँजीगततर्फ रु १६ करोड ८९ लाख ६९ हजार १ सय खर्च भएको छ । प्रतिशतमा पूँजीगततर्फ ८५.४७ र चालुतर्फ ८४.६३ प्रतिशत रकम खर्च भएको छ ।
हाम्रो एक बर्षे कार्यकालभित्र राज्यको आर्थिक अवस्था कमजोर र बजेट कटौती हुँदाको अवस्थामा पनि सिमित स्रोत साधनलाई उचित र अधिकतम परिचालन गरी गाउँपालिकाबाट धेरै विकास निर्माण र सामाजिक सुरक्षाका कार्यहरु गरिएको छ । यहाँ मुख्य मुख्य कार्यहरुलाई मात्र बिषयगत रुपमा उल्लेख गर्न चाहान्छु ।
मुख्य रुपमा के के काम गर्नुभयो ?
गाउँपालिकाले अघि सारेको “कृषि पर्यटन र सहकारी ; समृद्ध मालारानी“ भन्ने दीर्घकालीन सोचलाई सफल पार्न हेफर प्रोजेक्ट नेपालसंगको साझेदारीमा सञ्चालित ’मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ अन्तर्गत ६८ वटा समूहमा १७०० जना महिला तथा युवा उद्यमीको रुपमा १०० जना युवालाई आबद्ध गरी सो परियोजना मार्फत मुख्यतः कृषि तथा पशुपालनको क्षेत्रका काम जस्तै खोर निर्माण, भकारो सुधार, बाख्रा–बोका वितरण, डाले तथा भुइँघाँस वितरण, भैंसी पाडी तथा राँगा वितरण एवं हाते ट्रयाक्टर, कुटानी पिसानी मिल, कर्न शेलर, तौल मेशीन जस्ता विभिन्न प्रिवधि हस्तान्तरण गर्ने काम भएको छ । युवा उद्यमीलाइ जनही रु. ३५०००।– का दरले व्यवसाय सञ्चालन बापत रकम उपलब्ध गराइएको छ । मुल समूहबाट उपहार समूहलाई उपहार प्रदान गर्ने व्यवस्था अनुसार असार मसान्तसम्म २५८ बाख्रा ६९ वटा खोर र ३९ पाडीको गरी जम्मा रु. २६ लाख ७० हजार बराबरको उपहार प्रदान भएको छ ।
कृषि कार्यमा संलग्न रहेका कृषकहरुलाई पालिकाबाट २५० बढी टनेल वितरण गरिएको छ । कृषि पशुपालन तथा विभिन्न उत्पादन कार्यमा संलग्न व्यवसायीहरुलाई मागमा आधारित कार्यक्रम अन्तर्गत दोहोरो नपर्ने गरी प्रति सहकारी रु. ४८०००।–, प्रति समूह रु. ४४०००।– र प्रति निजी फर्म रु ४१५००।– का दरले अनुदान उपलब्ध गराइएको छ । वडा नं. ४ र ५ कार्यक्षेत्र बनाई जनकल्याण साना किसान महिला सहकारी मार्फत रु. १५ लाख अनुदानको बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिएको छ जस अन्तर्गत खोर निर्माण ४५, बोका ४, डिजिटल तराजु २, च्यापकटर २ र घाँसका विरुवा ५०० वितरण साथै बाख्राको बीमा समेतका काम सम्पन्न गरिएका छन् ।
वडा नं. ५ र ६ मा रु. १२ लाख अनुदानको व्यावसायिक सिताखे च्याउ पकेट कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५००० बढी मुढामा सिताखे च्याउ खेती गरिएको छ । महिलाहरुको जिविकोपार्जनमा सुधार ल्याउनको लागि वडा नं.२ मा प्रगतिशील साना किसान महिला सहकारी संस्था मार्फत २५ जनालाई जनही रु. २६०००।– का दरले बाख्रापालन कार्यक्रम प्रदान गरिएको छ ।
७० वटा घरपरिवारमा व्यावसायिक कागती खेतीको लागि न्यूनतम ५० बोट लगाउने कार्य सम्पन्न भएको छ । किसानको उत्पादनलाई भण्डारण र बजारीकरण गर्नको लागि वडा नं. ५ मा निर्मित १०० मेट्रिक टन क्षमताको कोल्डस्टोरमा हेफर प्रोजेक्टसंग साझेदारी गरी करीब रु ८४ लाखको लगानीमा कुलिङ्ग सिस्टम जडानको कार्य सम्पन्न भएकोछ ।
कृषि र भेटेरिनरी जेटिएको अध्ययन पूरा गरी सम्बद्ध व्यवसाय सञ्चालन गरेका प्राविधिक युवाहरुलाई प्रोत्साहन स्वरुप मासिक रु. ५०००।– का दरले प्रोत्साहन अनुदान उपलब्ध गराइएको छ । अदुवा, बेसार खेती प्रवर्द्धनको लागि वडा नं १, २ र ३ मा प्रगतिशील साना किसान सहकारी र ६, ७, ८ र ९ मा फुलबारी साना किसान सहकारी मार्फत २३ वटा बेसार पिस्ने मशीन तथा प्याकिङ्गको लागि २ वटा सिलिङ्ग मेशीन उपलबध गराइएको छ ।
नागरिकहरुलाई व्यवसाय तथा स्वरोजगारसंग जोड्न व्यावसायिक तथा सीप विकास प्रतिष्ठान, बुटवलको आयोजना तथा गाउँपालिकाको समन्वयमा १०० जनालाई प्लम्बिङ्ग तथा इलेक्ट्रसियन, कुक, अल्युमिनियम फेब्रिकेटर, टायल मार्बल फिक्सिङ्ग र केयर गिभर तालिम प्रदान गरिएको छ भने घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा २० जनालाई प्लम्बिङ्ग तथा हाउस वायरिङ्ग तालिम प्रदान गरिएको छ ।
स्वास्थ्य, खानेपानी, सरसफाइ क्षेत्रमा के के काम गरिरहनुभएको छ ?
पद बहालीको दिनमा घोषणा गरेको दीर्घरोग (सुगर, प्रेसर र छारे) का बिरामीहरुलाई निःशुल्क औषधि वितरणको कार्य शुरु गरिएको छ । यस कार्यक्रम अन्तर्गत करीब १४०० जना दिर्घ रोगीहरुले लाभ लिईरहेका छन् ।
बाँगी र हंसपुर स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा संचालन गरिएको छ । बर्थिङ्ग सेन्टरमा २४ घण्टासम्म सुत्केरी आमा राखी सेवा प्रदान गर्नको लागि सबै आवश्यक व्यवस्था मिलाइएको छ । मरेङ्ग स्वास्थ्य चौकीमा ल्याब सञ्चालनको लागि सामग्री व्यवस्थापन भई तत्काल ल्याब सेवा र सुरक्षित गर्भपतन सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ ।
पालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम गर्ने गरी करीब ३ वर्षको लागि सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल (भ्ब्ऋज्) नामक संस्थासंग सम्झौता गरी साझेदारीमा काम गरिरहेको छ ।
स्वास्थ्य आमा समुहको क्षमता विकासको लागि भ्ब्ऋज् परियोजना मार्फत तालिम गराई सबै १३१ समुहलाई कोष स्थापनार्थ रु. ५०००।– का दरले रकम उपलब्ध गराइएको छ । विद्युतीय लिफ्ट खानेपानीमा लाग्ने शुल्कमा आ. व. २०७९।८० देखि ८० प्रतिशत रकम पालिकाबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
वडा नं १ मा १३६ घरले उपभोग गर्ने सोताखोला आरुगैरा चौरी लिफ्ट खानेपानी योजना पहिरोले क्षत–विक्षत भएकोमा भ्ब्ऋज् परियोजनासंगको साझेदारीमा करीब १६ लाखको लगानीमा योजनाको काम सम्पन्न भै सञ्चालनमा आएको छ ।
वडा नं १ मरेङ्ग स्वास्थ्य चौकी भवन पछाडिबाट भीषण पहिरो गई भवन नै जोखिममा परेकोले सो भवन संरक्षणको लागि भ्ब्ऋज् परियोजनासंग साझेदारी गरी करीब रु. ३६ लाखको लगानीमा तारजाली भर्ने कार्य सम्पन्न भएको छ ।
भ्ब्ऋज् परियोजना मार्फत स्वास्थ्य संस्थाहरु, विद्यालयहरु तथा समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि आवश्यक सुधार गर्ने क्रममा हाल निरीक्षण–मूल्यांकन भैरहेको र महरबिसौना वडा नं. १ मा गाउँघर क्लिनिकको शौचालय निर्माण कार्य सम्पन्न भएको छ । यसै परियोजना मार्फत पालिकाका प्रत्येक वडामा २–२ जनालाई ऋब्म्च्भ् तालिम, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक, सहनायक र युवा रेडक्रस सर्कलका प्रतिनिधिलाई पूर्ण सरसफाइ तालिम र वडामा १ जना जनप्रतिनिधि र प्रत्येक माविका १ जना स्थानीय शिक्षकलाई प्राथमिक उपचार तालिम प्रदान गरिएको छ ।

.शिक्षा, विज्ञान तथा प्रविधितर्फ करारका शिक्षक नियुक्तिका लागि प्रश्नबैंक बनाई परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।शिक्षक दरबन्दीको कमी रहेका सामुदायिक विद्यालयहरुलाई शिक्षण सिकाइ सहयोग अनुदानको व्यवस्था गरी आवश्यक जनशक्ति उपलब्ध गराइएको छ ।राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगितामा सबै माविहरुलाई एक–एक थान बल, नेट, छात्रछात्रा भाला तथा छात्रछात्रा शटपुट उपलब्ध गराइएको छ ।
‘हाम्रो मालारानी’ नामक स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिएको छ ।चालू शैक्षिक सत्रदेखि सिद्धार्थ माध्यमिक विद्यालय, रतनमारेमा कक्षा ९ देखि बालीविज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यालयहरुको सघन निरीक्षणको कार्य केही विद्यालयमा भैसकेको र अन्य विद्यालयमा जारी रहेको छ ।बालबिकास कक्षामा सिकाईलाई थप प्रभावकारी बनाउन ३३ वटा विद्यालयहरुमा स्मार्ट टि.भी. हस्तान्तरण कार्यक्रम र कक्षा १ का विद्यार्थीहरुलाई स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सडक तथा यातयाततर्फ प्रदेश पालिका समपूरक योजना अन्तर्गत पातलकटेरा थाम सिमलचौर डाँडाकटेरी मोटरबाटो करीब ४ किमि स्तरोन्नति भएको छ ।
देउराली नरसिंहस्थान बामरुक मोटरबाटो करीब १.५ किमी कालोपत्रे भएको छ । प्यारीखर्क मुलकाचौर दोबाटा प्यूठान मोटरबाटो करीब ५ कि.मी. स्तरोन्नति भएको छ । साकिन्धारा कृषि सडक करीब ३ कि.मी. स्तरोन्नति भएको छ । कार्कीटोला गुराँसे शीत गुफा मोटरबाटो करीब ३.५ कि.मी. स्तरोन्नति भएको छ । अमिले पोखरीचौर उपल्लाखर्क दापोखरा मोटरबाटोको काउले खोलादेखि धुलेखर्क दापोखरा खण्डमा स्तरोन्नति भएको छ ।
प्रदेश सरकारको समन्वय र सहयोगमा डिभर्ना खनदह डाँडाकटेरी सडकको ढुङ्गाडेसम्मको खण्ड कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश सरकारको समन्वय र सहयोगमा अमिले कोदाले मुसामारे चौरी मोटरबाटो र रामपथ मखात खन मोटरबाटोको स्तरोन्नति भएको छ । संघीय सरकारको समन्वय र सहयोगमा पालिकाको प्रशासकीय भवन अगाडिको बाटो ढुङ्गाडेबाट ६००मिटर सभाहलतिर कालोपत्रे गरिएको छ ।
गाउँपालिका र वडा स्तरीय मुख्य सहकहरुमा गाउँपालिकाको ब्याक हो लोडर सन्चालन गरी करिव बाह्रै महिना यातायात सन्चालन गर्ने गरिएको छ । पहिलो वर्षमा पत्रे ढुङ्गाका छाना विस्थापित गरी करीब ३७५ घर जस्तापाताले छाउने कार्य सम्पन्न भएको छ ।
परम्परागत आरन व्यवसायलाई थप प्रवर्द्धन गर्न प्रति आरन एक बण्डल टिन उपलब्ध गराइएको छ । महिलाहरुको आर्थिक सशक्तीकरणका लागि वडा नं २ मा २२ जनालाई मकैको पोस्करबाट ब्याग र क्याप बनाउने सीपमूलक तालिम प्रदान गरिएको छ । वडा नं. ५ र ७ मा बाख्रापालन, माहुरीपालन, सिलाइकटाइ, हातेट्र्याक्टर मर्मत, ब्युटीपार्लर, डलकुशन र कपाल काट्ने तालिम प्रदान गरिएको छ भने वडा नं. १ र २ मा गत वर्षका तालिमको पुनर्ताजगी स्वरुप सिलाइकटाइ स्तरोन्नति र सर्फ–साबुन बनाउने तालिम सम्पन्न भएको छ ।
सहाराविहिन नागरिकहरु जो सामाजिक सुरक्षा भत्ताको लाभग्राही सूचीमा समावेश हुन सकेका छैनन् त्यस्ता नागरिकहरुलाई उपाध्यक्ष सहाराविहिन सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मासिक १÷१ हजारका दरले भत्ता उपलब्ध गराईएको छ ।
युवाहरुको खेलप्रतिको चाहनालाई थप प्रवर्द्धन गर्न छत्रदेव गाउँपालिकाले आयोजना गरेको अन्तर्पालिका स्तरीय क्रिकेट खेलमा खेलाडी सहभागी गराइएको छ ।
त्यसैगरी गाउँटोलमा भलिबल खेलाडीको विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने उद्देश्य सहित पालिकाले प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
युवा स्वरोजगारका लागि उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत ३५ जना युवाहरुलाई ६ दिने उद्यमशीलता विकास तथा वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ ।
सहकारी संस्थाहरुको सञ्चालक र लेखा समितिमा जनप्रतिनिधि नरहने व्यवस्था लागू गरिएको छ । सहकारी संस्थाहरुको क्षमता अभिवृद्धिको लागि सबै सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुलाई २ दिने सहकारी व्यवस्थापन तालिम तथा ५ दिने सहकारी लेखा तालिम सम्पन्न गरिएको छ ।
अर्घाखाँचीको सुपा मन्दिरमा आएका पर्यटकलाई मालारानीमा रहेका महत्वपुर्ण पर्यटकीय क्षेत्रमा ल्याउनको लागि के पहल गरिरहनु भएको छ ?
जिल्लाको महत्वपूर्ण आन्तरिक पर्यटकीय गन्तव्य स्थलको रुपमा स्थापित भएको सुपा देउरालीमा बाह्रै महिना आन्तरिक पर्यटकहरु आउने र सो क्षेत्रका वासिन्दाहरुले मनग्य आर्थिक लाभ लिन सक्षम भैसकेको अवस्था छ । उक्त मन्दिर क्षेत्रमा आउने पर्यटकहरुलाई मालारानीमा ल्याउनको लागि सर्वप्रथम यहाँका महत्वपूर्ण क्षेत्रहरुको प्रचारप्रसार गर्न जरुरी हुन्छ । मालारानीमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसावले महत्वपूर्ण रहेका क्षेत्रहरु मध्ये नरसिंहस्थान, मालारानी मन्दिर, मनचिन्तेपानी, बिष्णुगद्धि रहेको गुफा क्षेत्र र प्रकृति प्रदत्त तिल्कुवा झरना (जुन लामो दुरीको झोलुङ्गे पुलबाट प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ) मा पर्यटकीय पूर्बाधारका कामहरु भैसकेका छन् । अन्य क्षेत्रमा खनको जालकाँडा, वडा नं. ३ स्थित दारेघोडा, लोहोरीको लेक, शिवालय मन्दिर, हंसपुर कोट, राँगामारे भगवती मन्दिर, नेचुरल भ्यूटावर गोखुङ्गा आदि यहाँका पर्यटकीय स्थलहरु रहेका छन् । गाउँपालिकाले कृषि, पर्यटन र सहकारीबाट नै समृद्ध मालारानी बनाउन सकिन्छ भन्ने दीर्घकालीन सोचका साथ प्रथम आवधिक योजना निर्माण गरेको छ ।
यस्तो अवस्थामा हामी मालारानी गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुमा सौन्दर्यीकरण थप गर्ने, जिल्ला प्रवेश द्वारदेखि मुख्य मुख्य स्थानहरुमा होर्डिङ्गबोर्ड राख्ने, ब्रोसर प्रकाशित गर्ने, निर्माण गरिएका होमस्टेहरु विधिवत् रुपमा दर्ता गरी सञ्चालनमा ल्याउने र पर्यटन प्रबर्द्धनमा क्रियाशील रहेका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी मालारानी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गर्ने गरी अगाडि बढ्न खोजिरहेका छौं र हाम्रा कार्यक्रमहरु त्यसै तर्फ उन्मुख छन् ।

कृषि पशुपालनमा गाउँपालिकाको विगत देखि नै प्राथमिकता रहँदै आएको छ, परिणामको हिसावले कस्तो अवस्था रहेको छ ?
मालारानी गाउँपालिकामा मुख्य संभावना भएको आर्थिक क्षेत्र नै कृषि पशुपालन हो । गाउँपालिकाको प्रथम कार्यकालमा कृषि र पशुपालनलाई नै प्राथमिकतामा राखी कामहरु गरेको देखिन्छ । मुख्य उदाहरणको रुपमा कृषि प्रबिधि हस्तान्तरण, मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सन्चालन, कृषि तथा पशुपालन उद्यम व्यवसायको लागि सहुलियत व्याज दरमा ऋण परिचालन र व्याजमा अनुदानलाई लिन सकिन्छ । हामी जनप्रतिनिधिको रुपमा बहाल भैसकेपछि पनि उक्त कार्यक्रमहरुलाई निरन्तरता दिदै थप व्यवसायिक कागती खेती, कृषि तथा पशुपालन व्यवसायलाई मागमा आधारित अनुदान, कोल्डस्टोर भवनमा आन्तरिक कुलिङ् सिष्टम जडान आदि कार्यक्रमहरु सन्चालन गरेका छौ । गाउँपालिकाले लगानी गरेको बाख्रापालन कार्यक्रमबाट कृषकहरु आत्म निर्भर हुदै जाने क्रम बढ्दो छ । गाउँपालिका क्षेत्रबाट दिनहुँ ४०–५० खसी÷बोकाहरु जिल्ला भित्रका बजारहरु, छिमेकी जिल्लाका सदरमुकामहरु र बुटवलसम्म निकासी भैरहेको अवस्था छ । ३०० भन्दा बढि वटा कृषि तथा पशुपालनका व्यवशायहरु गाउँपालिकामा दर्ता गरी विधिवत रुपमा सन्चालन भएका छन् । गाउँपालिका भित्र उत्पादन हुने व्यवशायिक तरकारी तथा फलफुल खेतीको बजारिकरणको समस्याको समाधान केही हदसम्म कोल्ड स्टोरबाट हुनेछ । यसबाट तरकारी खेतीका व्यवशायीहरु थप आकर्षित हुने अपेक्षा गरिएको छ । उद्यमशीलता विकास तालिम, मागमा आधारित अनुदान र व्यावसायिक कागती खेती कार्यक्रमबाट युवाहरु पलायन हुनबाट केही हदसम्म रोक्न सकिन्छ कि भन्ने हाम्रो अपेक्षा रहेको छ ।

निर्वाचनका बेला मतदातासँग गरेका बाचाहरु भने अनुसार पूरा भएनन् भन्ने गुनासो आउन थालेको छ , यस बारे यहाँको धारणा के छ ?
स्थानीय तहको निर्वाचन, २०७९ मा मतदाताहरुसँग हामीले मुख्य रुपमा जिम्मेवारी, पारदर्शिता र जवाफदेहीताका साथ काम गर्ने, शासक होइन जनताका सच्चा सेवक बन्ने, पालिकाबाट प्रवाह हुने सेवामा सुशासनको ग्यारेण्टी गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थियौं र मतदाताहरुबाट आउने विकास निर्माण लगायतका मागहरुलाई क्रमशः पुरा गर्दै जाने बाचा गरेका थियौं । हाम्रा वाचाहरु पूरा गर्नको लागि हामी प्रतिबद्ध छौं, उपलब्ध स्रोत, साधन र प्रचलित नियम कानूनको परिधिभित्र रही पालिकाको नीति, कार्यक्रम र बजेट ल्याउने तथा त्यसको कार्यान्वयन मार्फत जनतामा सेवा र विकास पुर्याेउने काम हामी गरिरहेका छौ । हामीले गरेका कार्यहरुमा कसैले पनि औंला ठ्ड्याउन नसक्ने गरी काम गरेका छौ । सीमित स्रोत साधनबाट सबै जनआकांक्षा एकैपटक पुरा हुन सक्दैनन् । त्यसैले हामी यो विश्वास दिलाउन चाहन्छौं कि निर्वाचनताका बाचा गरेका बिषयवस्तुहरु, आम मतदाताहरुले उक्त समयमा उठाएका मागहरु हामीले कहिल्यै विर्सेका छैनौ र विर्सने पनि छैनौं । हाम्रो कार्यकाल भित्र हाम्रो घोषणापत्रमा उल्लेख गरिएका विषय र अन्य गरिएका बाचाहरु पुरा गर्नेतर्फ हामी सदैव लागिरहने छौं । यही कुरा मालारानीवासी आम मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछु र यहाँहरुबाट सदा सकारात्मक राय, सल्लाह तथा सुझावको अपेक्षा गर्दछु ।

प्रस्तुती ः गणेश खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?